प्रिमनसुन सक्रिय: प्युठानमा उच्च वर्षा, देशभर यो साता पानीको सम्भावना

काठमाडौं, १३ वैशाख — पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद्हरूका अनुसार आज विशेषगरी पूर्वी नेपालमा हिजोको तुलनामा बढी वर्षा हुने सम्भावना रहेको छ।

हाल चितवनको झुवाली, नवलपुरको दुम्कौली, उदयपुरको उदयपुरगढी र तनहुँको दमौली लगायतका क्षेत्रमा एक घण्टासम्म निरन्तर वर्षा भइरहेको छ।

गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको फोप्लीमा मापन गरिएको छ, जहाँ ९७.६ मिलिमिटर पानी परेको छ। त्यसैगरी लमजुङको फालेनीमा ८८.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

शनिबार साँझ परेको अविरल वर्षाका कारण काभ्रेमा बाढी आउँदा बीपी राजमार्गका डाइभर्सनहरू बगेका छन्, जसले यातायातमा असर पारेको छ।

यो साता वर्षा जारी रहने सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साताभर देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा वर्षा हुने हुँदा तापक्रम केही घट्ने र मौसम शीतल हुने अपेक्षा गरिएको छ। साथै वायु प्रदूषण र तुवाँलोमा पनि कमी आउने सम्भावना छ।

मौसमविद् बिनु महर्जनका अनुसार यस साता मध्यम वर्षा हुने भएकाले गर्मीबाट केही राहत मिल्ने देखिन्छ।

क्षेत्रअनुसार वर्षाको सम्भावना

  • तराई क्षेत्र: आइतबारदेखि मंगलबारसम्म कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना। बुधबारदेखि बिहीबारसम्म अधिकांश प्रदेशका केही स्थानमा वर्षा बढ्ने अनुमान।
  • पहाडी क्षेत्र: कोशी, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने, साथै अन्य प्रदेशका थोरै स्थानमा पनि पानी पर्ने सम्भावना।
  • हिमाली क्षेत्र: वर्षासँगै हिमपात पनि हुने सम्भावना, विशेषगरी कोशी, बागमती र गण्डकीका केही स्थानमा।

सतर्कता आवश्यक

प्रिमनसुन सक्रिय भएकाले मेघगर्जन, चट्याङ, असिना र हावाहुरीको जोखिम रहनेछ। विभागले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

आजको मौसम

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्छ भने केही तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको छ।

आज राति पनि देशका विभिन्न प्रदेशका हिमाली तथा केही अन्य स्थानमा हल्का वर्षा र हिमपात जारी रहने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर