
वासिङ्टन । अमेरिका र इरानबीच युद्ध अन्त्य तथा आणविक कार्यक्रमसम्बन्धी छलफल अवरुद्ध बनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत “समय अत्यन्त महत्त्वपूर्ण छ, इरानले छिट्टै निर्णय लिनुपर्छ, नत्र केही पनि बाँकी रहने छैन” भन्दै चेतावनी दिएका हुन्।
यो अभिव्यक्ति राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग आइतबार हुने संवादअघि सार्वजनिक गरेका हुन्।
यसैबीच, इरानी सञ्चारमाध्यमहरूले तेहरानले द्वन्द्व अन्त्यका लागि राखेका पछिल्ला प्रस्तावमा अमेरिकाले कुनै ठोस लचकता नदेखाएको बताएका छन्। अर्ध–सरकारी समाचार संस्थाका अनुसार अमेरिकाको कडा अडानकै कारण छलफल थप जटिल बन्दै गएको छ।
इरानले युद्ध अन्त्यका लागि सबै मोर्चामा तत्काल युद्धविराम, इरानी बन्दरगाहमाथिको अमेरिकी जलसैनिक घेराबन्दी हटाउनुपर्ने तथा भविष्यमा थप आक्रमण नगर्ने सुनिश्चितता दिनुपर्ने माग अघि सारेको छ। साथै, युद्धबाट भएको क्षतिको परिपूर्ति र हर्मुज जलडमरूमध्य माथिको आफ्नो नियन्त्रणलाई मान्यता दिनुपर्ने अडान पनि तेहरानले राखेको छ।
इरानी अर्ध–सरकारी समाचार संस्थाहरूका अनुसार अमेरिकाले जवाफस्वरूप पाँच बुँदे सर्त प्रस्ताव गरेको छ। तीमध्ये इरानले एउटा मात्र आणविक केन्द्र सञ्चालन गर्न पाउने तथा उच्च संवर्धित युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त प्रमुख रहेका छन्।
राष्ट्रपति ट्रम्पले हालै इरानले आफ्नो आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गरे स्वीकार्य हुन सक्ने संकेत दिएका छन्। यसलाई ट्रम्प प्रशासन आफ्नो पहिलाको “पूर्ण बन्द” गर्ने अडानबाट केही नरम बनेको रूपमा हेरिएको छ।
गत फागुन २८ गतेदेखि अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण सुरु गरेका थिए। त्यसपछि युद्धविराम घोषणा गरिए पनि छिटपुट तनाव जारी छ। इरानले हर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कडा बनाएपछि विश्वभर तेल र तरल प्राकृतिक ग्यासको आपूर्तिमा असर परेको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यसमेत बढेको छ।
अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्न इरानी बन्दरगाहहरूमा घेराबन्दी जारी राखेको छ। पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको भए पनि दुवै पक्षबीच सहमति अझै टाढा देखिएको छ।




