धादिङ, अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याकबाट गाडी गुड्न थालेका छन् ।
भदौ १० गते त्रिशूली नदीको बाढीले सडक बगाएपछि सो खण्ड १४ दिनदेखि बन्द थियो । पुरानो भासिएको सडकभन्दा माथि भित्तो काटेर बनाइएको करिब २ सय ५२ मिटर लामो नयाँ ट्र्याकमा आइतबार दिउँसो पहिलो पटक गाडी चलाइएको हो ।
सुरुमा खाली ग्यास बुलेट चलाएर सडकको अवस्था परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि धादिङका विभिन्न ठाउँमा रोकिएर बसेका ग्यासका बुलेट, ट्रक र हेभी सवारीलाई पालैपालो पास गराइएको छ ।
आयोजनाका अनुसार अहिले नियमित यातायात खुला गरिएको होइन, रोकिएका गाडीलाई मात्र परीक्षणको रूपमा पठाइएको हो । ग्रेड मिलाउने काम सकिएको छ भने ग्राभेल र नालीको काम अझै बाँकी छ ।
सडक विभागले मौसमले साथ दिए बिहीबारदेखि दुईतर्फी र असोज १ गतेदेखि नियमित रूपमा सडक सञ्चालन गर्ने लक्ष्य लिएको छ । कृष्णभीर खुल्दा काठमाडौं भित्रिने ग्यास र खाद्यान्नको आपूर्ति सहज हुने भएको छ ।




