काठमाडौं, असोज ११। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार राति करिब ३ बजे उनकै घरबाट पक्राउ गरेको छ। प्रहरीले उजुरीका आधारमा पक्राउ गरेको भनेको छ, तर उजुरी के हो भन्ने खुलाएको छैन।
स्रोतहरूका अनुसार शासकीय र न्यायिक काममा चलखेल गरेको आरोपमा प्रधानमन्त्री कार्यालयमा उनीविरुद्ध लगातार उजुरी परिरहेका थिए। उनी राजनीतिमा सक्रिय हुँदै थिए र अदालतमा चलिरहेका मुद्दामा पनि चासो देखाउँदै थिए भनिन्छ। टेरामक्स प्रकरण र वीरगञ्जका मेयर राजेशमान सिंहको मुद्दाको सुनुवाइअघि उनले सम्बन्धित पक्षसँग भेट गरेको बताइन्छ। बाँसबारीस्थित उनको घरमा मान्छेको आवतजावत बढेपछि सूचना संयन्त्रहरूले उनीमाथि निगरानी बढाएका थिए।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केको केही घण्टामै जबरा पक्राउ परेका हुन्।
उनी २०७५ पुस १८ मा प्रधानन्यायाधीश बनेका थिए। २०७८ फागुन १ मा संसद्मा उनीविरुद्ध महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परे, तर त्यो महाअभियोग पारित भएन।




