नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुन लागेको महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

महाधिवेशनको उद्घाटन समारोहपछि सोमबार र मंगलबार अर्थात् १९ र २० असोजमा बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुने कांग्रेसले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि २१ र २२ असोजमा निर्वाचन कार्यक्रम तय गरिएको छ।

महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो महाधिवेशन बन्नेछ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार गरिएको थियो। नाम दर्ताका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको थियो। दर्ता भएका प्रतिनिधिलाई पार्टी विधान, डायरी, कलम, खाना तथा खाजा–नास्ताका कुपनसहितको झोला उपलब्ध गराइएको छ।

नेतृत्वसँगै नीतिमा पनि जोड

कांग्रेसले यसपटकको महाधिवेशनलाई केवल नेतृत्व चयनमा सीमित नराखी नीति निर्माण र राजनीतिक दिशानिर्देशनको महाधिवेशन बनाउने तयारी गरेको छ।

प्रवक्ता चालिसेका अनुसार बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक विषयमा विभिन्न प्रतिवेदन प्रस्तुत हुनेछन्। सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।

विभिन्न राजनीतिक दल र विदेशी पाहुनालाई निम्तो

कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दललाई निमन्त्रणा गरेको छ।

त्यस्तै, भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकका राजनीतिक तथा कूटनीतिक प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहको मिति परिवर्तन भएका कारण केही विदेशी पाहुनाको उपस्थिति भने अपेक्षाकृत कम हुन सक्ने बताइएको छ।

प्रतिनिधिका लागि विभिन्न क्षेत्रमा होटल व्यवस्था

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा होटल बुकिङ गरिएको छ।

प्रदेशअनुसार प्रतिनिधिहरूलाई आवासको व्यवस्था गरिएको छ। कोशी र मधेश प्रदेशका प्रतिनिधिका लागि गौशाला तथा कोटेश्वर, बागमतीका लागि लाजिम्पाट तथा ठमेल, गण्डकी र लुम्बिनीका लागि बालाजु तथा नयाँ बसपार्क र कर्णाली तथा सुदूरपश्चिमका लागि सुन्धारा तथा कलंकी क्षेत्रमा होटलको व्यवस्था गरिएको छ।

विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा आवासको व्यवस्था गरिएको छ।

यद्यपि जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने प्रतिनिधिहरूको होटल तथा आवास खर्च भने स्वयंले बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ। विदेशी पाहुनाको आवास खर्च भने पार्टीले व्यहोर्नेछ।

प्रतिनिधिहरूका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खुलामञ्चमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालन गरिने भएको छ।

महाधिवेशन स्थलको पश्चिमतर्फ स्थापना गरिएको हेल्थ डेस्कमा पाँचवटा स्टल रहनेछन्। त्यहाँ सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुनेछ।

हेल्थ डेस्कमा चिकित्सक, नर्स तथा पारामेडिक्ससहितको टोली दुई सिफ्टमा खटिनेछ। रक्तचाप, रक्तचिनी परीक्षण, सिटामोल, जीवनजल तथा सामान्य घाउचोटका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ।

गम्भीर अवस्था आएमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा बीपी स्मृति अस्पतालमा तत्काल लैजाने व्यवस्था मिलाइएको छ। महाधिवेशन स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ भने रातिको समयमा आवश्यक परे ‘अन कल’ स्वास्थ्य सेवा पनि उपलब्ध हुनेछ।

प्रतिनिधिहरू बसेका होटलमा स्वास्थ्य समस्या देखिएमा होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

पार्किङ र यातायात व्यवस्थापनमा विशेष तयारी

महाधिवेशनका कारण काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

महाधिवेशन यातायात व्यवस्थापन समितिका अनुसार धरहराको भूमिगत पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडकको निश्चित भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ।

त्यस्तै, पुरानो बसपार्क आसपास तथा भृकुटीमण्डप परिसरमा समेत पार्किङको व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक र संगठनात्मक दिशा तय गर्ने भएकाले यसलाई कांग्रेसको आन्तरिक नेतृत्व परिवर्तन मात्र नभई भावी राजनीतिक रणनीति निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर