लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजित इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजलाई ४ विकेटले स्तब्ध पार्दै लुम्बिनी अर्को चरणमा पुगेको हो।
अब लुम्बिनीले बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेता शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधि दौडको अन्तिम भिडन्त खेल्नेछ।
बुधबार काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीका ओपनर डार्शी सर्टले ३३ रनको योगदान दिंदै इन्निङ्स सुखद सुरुआत गराए। कप्तान रोहित पौडेलले १८ रन, सन्दीप जोराले २३ रन र निरोशन डिक्वेलाले १४ रन जोडे। अन्तिमतिर रुबेन ट्रम्पलम्यानको चौकाले लुम्बिनीलाई जितमा पुर्यायो।
बलिङतर्फ काठमान्डुका सन्तोष यादवले २ विकेट लिए भने करण केसी, सनी पटेल, शाहब आलाम र रशिद खानले १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु कमजोर प्रदर्शनका कारण १९.१ ओभरमा १११ रनमै अलआउट भयो। सुरुवाती चार विकेट पावरप्लेभित्रै गुमाएपछि काठमान्डुको ब्याटिङ लाइनअप पुरै धराशायी भयो। आदिल अन्सारीले १८ रन, सन्तोष यादवले २३ रन र कप्तान करण केसीले ९ रन जोड्न सफल भए।
लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए। रुबेन ट्रम्पलम्यानले २ विकेट लिए भने १ मेडनसमेत राख्दै १० रन मात्र खर्चिए।
आजको जितसँगै लुम्बिनीले फाइनलको आशा जिवन्त राखेको छ। बिहीबार विराटनगरसँगको दोस्रो क्वालिफायर निर्णायक हुनेछ। शनिबार अपरान्ह ३:३० बजे हुने फाइनलका लागि सुदूरपश्चिम रोयल्स पहिले नै स्थान सुरक्षित गरिसकेको छ।




