२९ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले सोमबार पनि नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै सुनको भाउ २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य लगातार बढ्दो क्रममा छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेर रेकर्ड बनेको थियो, जुन केही दिनमै पुनः तोडिएको हो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आज ४५ रुपैयाँले बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ । चाँदीले यसअघि गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।




