१३ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका सबै वैकल्पिक राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। सकेसम्म एकता र नसके कार्यगत एकता गरेर भए पनि अघि बढ्नुपर्ने उनको धारणा छ।
शनिबार बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सही नेतृत्व र वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। “सम्भव भएसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं। त्यसैले नयाँ र मूलधारका सबै शक्तिहरूलाई एकजुट भएर अघि बढ्न म आह्वान गर्छु,” उनले भने।
नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरूको एकता नै भएको घिसिङको भनाइ थियो। “आज नेपाली जनताको अपेक्षा सबै वैकल्पिक शक्तिहरू एक होऊन, अघि बढून् र नयाँ नेतृत्व प्रदान गरून् भन्ने छ। यसलाई सबैले बुझेर त्यसतर्फ लाग्नुपर्छ,” वर्तमान सरकारका मन्त्रीसमेत रहेका घिसिङले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको दिनमै घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो। उनले बालेन शाहसँग एकता तथा सहकार्यका विषयमा छलफल अघि बढाएको भए पनि हाल उक्त सहकार्यबाट आफू बाहिरिएको अवस्था छ।




