नेपाली कांग्रेसको विशेष महाधिवेशन: आजदेखि बन्दसत्र औपचारिक रूपमा सुरु

२८ पुस, काठमाडौं — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सम्पन्न भएपछि आज बन्दसत्रका कार्यक्रम अघि बढाइने भएका हुन्।

महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको खाजापछि बन्दसत्र सुरु गरिनेछ। ढिलोमा बिहान १० बजेसम्म बन्दसत्रका औपचारिक कार्यक्रम प्रारम्भ हुने तयारी छ।

प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन आह्वान गरिएको हो। यस महाधिवेशनमा २ हजार ६ सयभन्दा बढी प्रतिनिधिले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन्।

बन्दसत्र कार्यविधि अनुसार सञ्चालन हुनेछ। बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ। यस क्रममा पार्टीको भावी दिशा तय गर्ने नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ।

विशेष महाधिवेशनले कांग्रेसको संगठन सुदृढीकरण र राजनीतिक रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर