१२ फागुन, काठमाडौं। अमेरिकाको पूर्वी तटमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं नागरिक प्रभावित भएका छन्। रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध सिर्जना भएको छ।
रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही क्षेत्रमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ। रोड आइल्यान्डको राजधानी प्रोभिडेन्समा ३३ इन्च हिउँ परेको छ, जसले सन् १९७८ को फेब्रुअरीमा कायम २८.६ इन्चको पुरानो कीर्तिमान तोडेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाको सबैभन्दा सानो राज्यका रूपमा चिनिने रोड आइल्यान्डका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो हिमपात मानिएको छ।
न्यूयोर्क सिटीस्थित सेन्ट्रल पार्कमा मात्र १९ इन्चभन्दा बढी हिउँ जमेको बीबीसीले जनाएको छ। न्यूयोर्कमा यात्रा अवस्था ‘झन्डै असम्भव’ भएको भन्दै राज्य निकायले चेतावनी दिएका थिए। करिब ८० लाख जनसंख्या रहेको शहर केही समयका लागि ठप्प जस्तै बनेको थियो, यद्यपि दिउँसो १२ बजेपछि यात्रा प्रतिबन्ध हटाइएको थियो।
पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। विशेष गरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन्। म्यासाचुसेट्समा मात्रै करिब ३ लाख उपभोक्ता विद्युत् विहीन भएका छन्, जसमा बार्नस्टेबल काउन्टी (केप कोड क्षेत्र)का ८५ प्रतिशत उपभोक्ता प्रभावित रहेको जनाइएको छ।
हिमआँधीको चेतावनी नर्थ क्यारोलिनादेखि मेनसम्म जारी गरिएको थियो भने पूर्वी क्यानडाका केही क्षेत्रमा पनि सतर्कता अपनाइएको छ। मौसम विभागका अनुसार मंगलबार बिहानसम्म थप १ देखि २ फिटसम्म हिउँ पर्न सक्ने अनुमान गरिएको छ।
रोड आइल्यान्ड र छिमेकी कनेक्टिकटमा अत्यावश्यक बाहेकका यात्रा प्रतिबन्ध लागू गरिएको छ। म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण–पूर्वी म्यासाचुसेट्समा गैर–आवश्यक सवारी चलाउन रोक लगाउँदै प्रमुख राजमार्गमा सवारीको गति ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिएकी छन्। ‘ह्वाइटआउट’ अवस्थाका कारण यात्रा अत्यन्त जोखिमपूर्ण भएको भन्दै उनले सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेकी छन्।
हिमपातका कारण हवाई सेवामा ठूलो असर परेको छ। उडान ट्र्याकिङ साइट FlightAwareका अनुसार सोमबार अमेरिका भित्रिने र बाहिरिने गरी ५ हजार ६७५ भन्दा बढी उडान रद्द भएका छन्। ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान रद्द भएका छन्। साथै लोगन अन्तर्राष्ट्रिय विमानस्थल, नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अधिकांश उडान प्रभावित भएका छन्।
यसैबीच, कनेक्टिकट र न्यूजर्सीमा रुख ढल्ने तथा हाँगा भाँचिने जोखिम बढेकाले सडक अवस्था अझ जोखिमपूर्ण बन्न सक्ने चेतावनी दिइएको छ। प्रोभिडेन्समा हिउँ पन्छ्याउने कार्यमा अवरोध पुर्याएको भन्दै ३०० भन्दा बढी गाडी क्रेनको सहायताले हटाइएको जनाइएको छ।
मौसम सुधार हुन अझ केही समय लाग्ने अनुमान गरिएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित रहन आग्रह गरेका छन्।
(तस्वीर स्रोत: एपी न्युज)




