१२ फागुन, काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकका लागि महत्वपूर्ण मानिने सात निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४० लाख अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस निर्णयसँगै आयोजनाको कार्यान्वयन प्रक्रियालाई थप स्पष्ट मार्गनिर्देशन प्राप्त हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरिएको छ।
बीमा ऐन, २०७९ को दफा १४० बमोजिमका कसुरसम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने सार्वजनिक बिदा निर्धारण गर्ने तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको छ।
मन्त्रिपरिषद्को सातौँ निर्णयका रूपमा जेनजी परिषद् गठन गर्ने निर्णय गरिएको छ, जसले युवापुस्ताको सहभागिता र नीति निर्माणमा उनीहरूको भूमिका सुदृढ गर्ने अपेक्षा गरिएको छ।
(तस्बिर: प्रधानमन्त्रीको सचिवालय)




