१८ फागुन, काठमाडौं — इरानद्वारा गरिएको ड्रोन हमलामा परी यूएईमा ज्यान गुमाएका नेपाली नागरिकको पहिचान खुलेको छ। अबुधाबीस्थित नेपाली दूतावासले सोमबार यूएईको विदेश मन्त्रालयबाट प्राप्त जानकारीअनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको जनाएको छ।

दूतावासका अनुसार श्रेष्ठ हमलामा घाइते भएका थिए र उपचारका क्रममा आइतबार उनको निधन भएको हो। यसअघि शनिबार अबुधाबी विमानस्थलमा भएको सोही हमलामा तीन जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली घाइते भएका थिए। मृतकको पहिचान भने सोमबार मात्र सार्वजनिक गरिएको हो।
दूतावासले श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउन आवश्यक समन्वय तथा सहजीकरण गरिने जानकारी दिएको छ।
यस संवेदनशील परिस्थितिमा अबुधाबी तथा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनद्वारा जारी सुरक्षा निर्देशिकाको पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ।
इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले हमला गरेपछि इरानले आसपासका केही देशहरूमा ड्रोन तथा मिसाइल आक्रमण गरेको बताइएको छ। सोही क्रममा यूएईमा पनि आक्रमण भएको जनाइएको छ।




