प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि अस्थायी रूपमा भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो ४० दिने कार्यअवधि पूरा गरेका छन्। निर्वाचन सम्पन्न भएसँगै उनीहरूलाई अब औपचारिक रूपमा बिदाइ गर्ने तयारी गरिएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी ले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बल नेपाल ले १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरी देशभर परिचालन गरेको थियो। उनीहरूलाई निर्वाचनअघि र निर्वाचनपछिको सुरक्षा व्यवस्थापनका लागि करिब ४० दिनसम्म खटाइएको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ भने मतगणनाको परिणाम पनि सार्वजनिक भइसकेको छ। निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि नेपाल प्रहरीले फागुन २८ गते देशभर निर्वाचन प्रहरीलाई ‘धन्यवाद पत्र’ सहित सम्मानपूर्वक बिदाइ गर्ने तयारी गरेको जनाएको छ।
अवि नारायण काफ्ले का अनुसार फागुन २८ गते बिहीबार देशभर खटिएका निर्वाचन प्रहरीलाई औपचारिक रूपमा बिदाइ गरिनेछ। यस्तै, सशस्त्र प्रहरी बल नेपाल ले पनि सोही दिन आफ्ना निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई बिदाइ गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्ट ले निर्वाचन सुरक्षामा खटिएका १५ हजार ११० जना निर्वाचन प्रहरीलाई बिहीबार औपचारिक रूपमा बिदाइ गरिने जानकारी दिए।
यसबीच निर्वाचन ड्युटीका क्रममा ११ जना निर्वाचन प्रहरीको ज्यान गएको थियो भने दुर्घटनामा परेर नेपाल प्रहरी का एक असईको पनि मृत्यु भएको थियो। ड्युटीका क्रममा ज्यान गुमाएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ।
त्यसैगरी, ड्युटीका क्रममा बिरामी परेका निर्वाचन प्रहरीहरूको उपचार खर्च पनि सरकारले नै बेहोरेको प्रहरीले जनाएको छ।




