अमेरिका र इजरायलसँग जारी युद्धका क्रममा रूस र चीनले सैन्य सहयोग उपलब्ध गराइरहेको भन्दै इरानले दाबी गरेको छ।
अमेरिकी सञ्चारमाध्यम ‘एमएस नाउ’ सँगको अन्तर्वार्तामा अब्बास अरागची ले युद्धको समयमा रूस र चीन इरानका महत्वपूर्ण रणनीतिक साझेदार रहेको बताएका हुन्।
उनले विगतदेखि नै इरान, रूस र चीनबीच घनिष्ठ सहकार्य रहँदै आएको उल्लेख गर्दै उक्त सहकार्य अहिले पनि निरन्तर रहेको र त्यसमा सैन्य सहयोगसमेत समावेश भएको बताएका छन्।
पछिल्ला दिनहरूमा इरानले अमेरिकी सैन्य संरचना र गतिविधिबारे सटिक जानकारी पाएर आक्रमण गरिरहेको जस्तो देखिएको भन्ने विभिन्न समाचारहरू सार्वजनिक भएका छन्। कतिपय विश्लेषकहरूले यस्तो खुफिया जानकारी रूस ले उपलब्ध गराइरहेको हुनसक्ने अनुमान गरेका थिए।
यसैबीच डोनाल्ड ट्रम्प ले पनि सार्वजनिक रूपमा रूसले इरानलाई सहयोग गरिरहेको हुनसक्ने संकेत दिएका थिए। उनले अमेरिकाले युक्रेनलाई सहयोग गरेजस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ले पनि इरानलाई केही सहयोग गरिरहेको हुनसक्ने बताएका थिए।
सोभियत संघ विघटन भएको साढे तीन दशकपछि इरान र रूस बीचको सम्बन्ध क्रमशः बलियो हुँदै गएको छ। विशेष गरी सन् २०२२ मा रूसले युक्रेन माथि आक्रमण गरेपछि यी दुई देशबीचको सहकार्य अझ मजबुत भएको मानिन्छ।
युक्रेनसँगको युद्धमा प्रयोग गर्न इरानले रूसलाई ‘शाहिद’ ड्रोन तथा अन्य सैन्य सामग्री उपलब्ध गराएको थियो। इरानी प्रविधिको सहयोगपछि ती ड्रोनहरू अहिले रूसमै उत्पादन भइरहेको बताइन्छ।
यद्यपि युक्रेनसँगको युद्धमै आफ्ना हतियारहरू प्रयोग भइरहेकाले रूसले अहिले इरानलाई प्रत्यक्ष रूपमा हतियार उपलब्ध गराउन कठिनाइ हुनसक्ने अनुमान गरिएको छ। त्यसबाहेक इरानलाई खुला रूपमा हतियार सहयोग गरे अमेरिकासँगको तनाव बढ्न सक्ने चिन्तासमेत रहेको बताइन्छ।
तर प्रत्यक्ष हतियार नदिए पनि रूसले इरानलाई गोप्य सैन्य सूचना उपलब्ध गराइरहेको हुनसक्ने चर्चा भइरहेका बेला इरानी विदेशमन्त्री अरागचीले यस्तो सहकार्यको संकेत दिएका छन्।
(अन्तर्राष्ट्रिय मिडिया स्रोतहरूबाट संकलित जानकारीका आधारमा तयार गरिएको)




