पूर्वप्रधानमन्त्री ओली र नेता लेखक आज अदालतमा पेश गरिँदै

काठमाडौँ — शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

प्रहरीले उनीहरूलाई जरुरी पुर्जीका आधारमा नियन्त्रणमा लिएको थियो। कानुनी प्रावधानअनुसार यस्तो अवस्थामा पक्राउ परेका व्यक्तिलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने व्यवस्था छ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनामा हेलचेक्र्याइँपूर्वक ज्यान गएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो। उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई दोषी ठहर गर्दै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

यसैबीच, अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने रमेश लेखकलाई प्रहरीको दुई नम्बर गणमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर