बुधबार देशभर वर्षाको सम्भावना: पश्चिम क्षेत्रमा बढी प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केही स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको र भोलिदेखि यसको प्रभाव अझ बढ्ने भएकाले मौसमअनुसार सतर्क रहन अनुरोध गरिएको छ।

उनका अनुसार यस प्रणालीको प्रभाव विशेषगरी पश्चिम नेपालमा बिहानैदेखि देखिनेछ भने दिउँसोसम्म यसको असर काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि पुग्नेछ।

विभागले साँझ जारी गरेको मौसम बुलेटिनअनुसार बुधबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

यी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा, साथै मधेस प्रदेशसहित तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने मौसमविद् लामिछानेले जानकारी दिएका छन्।

मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको बताइएको छ। विभागका अनुसार बिहीबार पनि देशभर बदलीको अवस्था कायम रहनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर