ट्रम्पको घोषणाले तेल बजारमा राहत, मूल्यमा हल्का गिरावट

वासिङ्टन डिसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिन अमेरिका तयार रहेको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट आएको छ।

आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत उक्त क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यस घोषणापछि सोमबार बजारमा सकारात्मक संकेत देखिँदै तेलको मूल्य ओरालो लागेको हो।

बजार विवरण अनुसार ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ।

ट्रम्पले यो कदम इरान, मध्यपूर्व र अमेरिकाको सामूहिक हितका लागि भएको उल्लेख गर्दै जलमार्गमा आवागमन सहज बनाउने र व्यापारलाई निरन्तरता दिने लक्ष्य रहेको बताएका छन्।

यद्यपि, अमेरिका र इरानबीच शान्ति सम्झौता अझै नहुँदा तेलको मूल्य १०० डलर माथि नै कायम रहेको छ। स्ट्रेट अफ हर्मुजमा व्यापारिक गतिविधि अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन।

विश्लेषकहरूका अनुसार दुवै देश आ-आफ्नो अडानमा अडिग रहेकाले वार्ता सुस्त बनेको छ। अमेरिका आणविक सम्झौतालाई प्राथमिकतामा राखिरहेको छ भने इरानले युद्ध अन्त्य र नाकाबन्दी हटेपछि मात्र आणविक विषयमा छलफल गर्ने बताउँदै आएको छ।

यसैबीच ओपेक+ ले जुन महिनाका लागि दैनिक १ लाख ८८ हजार ब्यारेलले तेल उत्पादन बढाउने निर्णय गरेको छ, जसले आगामी दिनमा बजारमा थप प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर