सुनको मूल्यमा नयाँ उछाल : प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । बिहीबार प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकै दिनमा उल्लेख्य रूपमा बढेको हो ।

गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ रहेको थियो । यस आधारमा एक सातामै सुनको भाउमा उल्लेख्य वृद्धि देखिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२५ रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर