पर्सियन खाडीमा ठूलो तेल चुहावटको आशंका, अमेरिकी प्रतिबन्धले इरान दबाबमा

तेहरान । पर्सियन खाडीस्थित इरानको खार्ग टापु नजिकै ठूलो परिमाणमा तेल चुहावट भएको आशंका गरिएको छ। स्याटेलाइट तस्बिरहरूमा समुद्रमा फैलिएको तेल स्पष्ट देखिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले घटना सार्वजनिक गरेका छन्।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी प्रतिबन्ध, होर्मुज क्षेत्रमा बढ्दो तनाव तथा इरानको तेल निर्यातमा आएको अवरोधका कारण यस्तो अवस्था सिर्जना भएको हुनसक्ने अनुमान गरिएको छ।

अर्बिटल ईओएसले सार्वजनिक गरेको विवरणअनुसार तेल चुहावट ५१ वर्ग माइलभन्दा बढी क्षेत्रमा फैलिएको छ। प्रारम्भिक अनुमानमा तीन हजार ब्यारेलभन्दा बढी तेल समुद्रमा मिसिएको बताइएको छ।

अमेरिकी प्रतिबन्ध र नौसैनिक निगरानीका कारण इरानको तेल निर्यात प्रभावित बनेको जनाइएको छ। धेरै तेल ट्याङ्करहरू रोकिएको तथा भण्डारण क्षमता घट्दै गएपछि अतिरिक्त तेल समुद्रमा फालिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।

ह्याम्बर्ग युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक निमा शोक्री ले तेल उत्पादन तत्काल बन्द गर्नु प्राविधिक रूपमा जटिल हुने बताएका छन्। उनका अनुसार तेलका इनार अचानक बन्द गर्दा पाइपलाइन अवरुद्ध हुने वा भण्डारण संरचनामा क्षति पुग्ने जोखिम रहन्छ।

केही विज्ञहरूले खार्ग टापु नजिकैको पुरानो पाइपलाइनमा आएको चुहावट पनि सम्भावित कारण हुनसक्ने बताएका छन्। समुद्रमा फैलिएको तेल क्रमशः साउदी अरबतर्फ सर्दै गएको उल्लेख गर्दै वातावरणीय जोखिम बढेको चेतावनी दिइएको छ।

यद्यपि, इरानले भने तेल चुहावटसम्बन्धी रिपोर्ट अस्वीकार गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार इरान आयल टर्मिनल कम्पनीले अनुसन्धानका क्रममा कुनै तेल चुहावटको प्रमाण फेला नपरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर