स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं, ७ असार । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ।

हरेक वर्ष जुन २१ तारिखका दिन मनाइने यस दिवसले योगको महत्व, स्वस्थ जीवनशैली र मानसिक सन्तुलनप्रति जनचेतना फैलाउने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग मानव जीवनका लागि अपरिहार्य भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन जनाएका थिए। त्यसपछि संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्र तथा युरोपियन युनियनसहित १७७ देशले समर्थन गर्दै योग दिवसले विश्वव्यापी स्वीकार्यता प्राप्त गरेको थियो।

नेपालमा भने योगको अभ्यास र प्रवर्द्धनको इतिहास अझ पुरानो छ। विसं २०३६ देखि उत्तरायण प्रारम्भ हुने माघ १ गते योग दिवस मनाउने परम्परा सुरु भएको थियो। योग, ध्यान र प्राकृतिक चिकित्साको अध्ययन–अध्यापन नेपाल संस्कृत विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयमा समेत सञ्चालन हुँदै आएको छ।

योग अभियन्ताहरूको पहलमा नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको थियो। त्यसयता नेपालमा माघ १ मा राष्ट्रिय योग दिवस तथा जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने प्रचलन रहेको छ।

विशेषज्ञहरूका अनुसार योगले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति, आत्मबल तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ। रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिन योग प्रभावकारी माध्यम भएको भन्दै योगलाई जनजीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिइँदै आएको छ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान ७ बजे राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा योगासन प्रदर्शन, योगको महत्वबारे जानकारी तथा स्वस्थ जीवनशैलीका सन्देश प्रवाह गरिने जनाइएको छ। मूल समारोह समितिको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका योग साधक, प्रशिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

दिवसका अवसरमा जीवनलाई स्वस्थ, अनुशासित र सन्तुलित बनाउन योगको अभ्यासलाई व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर