बग्दाद — दुई दशकभन्दा लामो समयसम्म सैन्य उपस्थिति रहेको इराकबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन सेना औपचारिक रूपमा फिर्ता हुँदैछ। सन् २००३ मा इराकमा अमेरिकी नेतृत्वको सैन्य हस्तक्षेप सुरु भएयता विभिन्न चरणमा जारी रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्यलाई इरान र उसका समर्थक समूहहरूले आफ्नो रणनीतिक सफलताका रूपमा व्याख्या गरेका छन्।
अमेरिकी सेनाको यो फिर्ती सन् २०२४ मै तय गरिएको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अघि सारेको योजनालाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पनि निरन्तरता दिएको हो।
इराकी सुरक्षा विज्ञहरूका अनुसार अमेरिकी गठबन्धन सेना हटेपछि इराकमा इरानको प्रभाव अझ बलियो बन्न सक्ने सम्भावना छ। लामो समयदेखि तेहरानसँग सम्बन्धित सिया सशस्त्र समूहहरूले इराकको सुरक्षा तथा राजनीतिक संरचनामा प्रभाव राख्दै आएका छन्।
इराकी सुरक्षा विश्लेषक जासिम अल–बह्दलीका अनुसार अमेरिकी सेनाको फिर्तीले इरानको प्रभावलाई सन्तुलनमा राख्दै आएको सैन्य उपस्थितिको अन्त्य हुनेछ। उनका अनुसार यसले इरान समर्थक समूहहरूलाई सुरक्षा र राजनीतिक निर्णय प्रक्रियामा थप प्रभाव विस्तार गर्ने अवसर दिन सक्छ।
इरान समर्थित ‘इस्लामिक रेजिस्टन्स इन इराक’ का कमाण्डर अबु मुज्ताबा अल–यासिरीले अमेरिकी फिर्तीलाई ‘ऐतिहासिक जित’ को संज्ञा दिएका छन्। उनका अनुसार यो इराकी प्रतिरोध समूहका लागि उपलब्धि र अमेरिकी रणनीतिक योजनाका लागि ठूलो असफलता हो।
उनले अमेरिकी सेनाको फिर्तीपछि इराकले आफ्नो सार्वभौमसत्ता विदेशी सेनाको उपस्थितिभन्दा आफ्नै जनता र संस्थाको इच्छाशक्तिबाट कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सुरक्षा जिम्मेवारी सम्हाल्न इराक तयार छ?
अमेरिकी सेनाको फिर्ती इराकी जनतामाझ व्यापक रूपमा स्वीकार्य देखिए पनि सुरक्षा चुनौतीबारे चिन्ता कायमै छ।
फल्लुजाहका सुन्नी जनजाति नेता अब्दुलरहमान अल–जोबाईले इराक अझै पूर्ण रूपमा आफ्नो सुरक्षा जिम्मेवारी सम्हाल्न तयार नभएको बताएका छन्। उनका अनुसार सबै इराकीले पूर्ण सार्वभौमसत्ता चाहेका छन्, तर विदेशी गठबन्धन सेना अचानक हट्दा उत्पन्न हुने सुरक्षा रिक्तताले चिन्ता बढाएको छ।
अमेरिकाले सन् २००३ मा इराकमा आक्रमण गरी तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताबाट हटाएको थियो। त्यसपछि अमेरिकी सेनाले लामो समयसम्म विद्रोही समूहविरुद्ध सैन्य अभियान सञ्चालन गर्यो र सन् २०११ को अन्त्यमा ठूलो संख्यामा आफ्ना सेना फिर्ता गरेको थियो।
तर सन् २०१४ मा इस्लामिक स्टेटको तीव्र विस्तारपछि अमेरिकी सेना पुनः इराक फर्किएको थियो। अन्तर्राष्ट्रिय गठबन्धनको सहयोगमा इराकी सुरक्षा बलले सन् २०१७ सम्म इस्लामिक स्टेटविरुद्ध ठूलो सैन्य अभियान सञ्चालन गरेको थियो।
अमेरिका–इरान तनावको केन्द्र बन्दै आएको इराक
पछिल्ला वर्षहरूमा इराक अमेरिका र इरान दुवैसँग राजनीतिक तथा सुरक्षा सम्बन्ध कायम राख्ने मध्यपूर्वको महत्वपूर्ण देश बनेको थियो। तर यही अवस्थाले इराकलाई दुई शक्तिबीचको तनावको मैदानसमेत बनायो।
सन् २०२० मा अमेरिकाले बग्दाद विमानस्थलनजिकै गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएका थिए। त्यसपछि इरान समर्थित सशस्त्र समूहहरूले इराकमा रहेका अमेरिकी सैन्य आधारलाई पटक–पटक निशाना बनाएका थिए भने अमेरिकाले पनि जवाफी कारबाही गरेको थियो।
इराकबाट अमेरिकी सेना फिर्ता भएपछि यस्तो सैन्य तनावमा केही परिवर्तन आउन सक्ने भए पनि इरान समर्थित समूहको प्रभाव र क्षेत्रीय शक्ति संघर्ष भने कायमै रहने विश्लेषण गरिएको छ।
इरानले भन्यो—‘रणनीतिक सफलता’
इरानले लामो समयदेखि अमेरिकी सैन्य उपस्थितिलाई मध्यपूर्वबाट हटाउने आफ्नो लक्ष्य रहेको बताउँदै आएको छ। त्यसैले इराकबाट अमेरिकी गठबन्धन सेनाको फिर्तीलाई तेहरानले आफ्नो क्षेत्रीय रणनीतिसँग जोडेर हेरेको छ।
इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका उपाध्यक्ष अमिर हयात मोकद्दमले अमेरिकी सेना इराक र मध्यपूर्वबाट हटेपछि इराकमा स्थायी सुरक्षा कायम हुने दाबी गरेका छन्। उनले इराकबाट अमेरिकी टोलीको फिर्तीलाई इरानले स्वागत गर्ने बताएका छन्।
अमेरिकाले भने इरान समर्थित इराकी सशस्त्र समूहहरूलाई मध्यपूर्वमा तनाव बढाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ। बग्दाद सरकारले पनि यस्ता समूहहरूको प्रभाव नियन्त्रण गर्ने प्रयास गरिरहेको बताउँदै आएको छ।
इस्लामिक स्टेट पुनः सक्रिय हुने जोखिम
अमेरिकी गठबन्धन सेनाको फिर्तीसँगै अर्को महत्वपूर्ण सुरक्षा चुनौती इस्लामिक स्टेटको सम्भावित पुनः सक्रियता हो।
इस्लामिक स्टेटले केही वर्षअघि इराक र सिरियाको ठूलो भूभाग नियन्त्रणमा लिएको थियो। इराकमा उसको क्षेत्रीय नियन्त्रण समाप्त भए पनि संगठनका केही भूमिगत सञ्जाल र लडाकु समूह अझै सक्रिय रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
कुर्द सुरक्षा कमाण्डर सिरवान बार्जानीका अनुसार अमेरिकी गुप्तचर सूचना, सैन्य उपकरण र ड्रोन सहयोग घटेपछि इस्लामिक स्टेटलाई पुनः संगठित हुने अवसर मिल्न सक्छ। उनका अनुसार पछिल्ला केही सातामा समूहको गतिविधिमा वृद्धि देखिएको छ।
इराकी सुरक्षा अधिकारीहरूका अनुसार इस्लामिक स्टेटसँग सम्बन्धित एउटा समूहले अमेरिकी गठबन्धन सेना फिर्ता हुने समय आसपास आत्मघाती आक्रमणको तयारीसमेत गरेको थियो। यसले संगठन पूर्ण रूपमा समाप्त नभइसकेको र सुरक्षा कमजोरीको फाइदा उठाउन सक्ने क्षमता अझै रहेको देखाएको उनीहरूको भनाइ छ।
किरकुकका वरिष्ठ सुरक्षा अधिकारी कर्णेल खालिद अल–बायतीका अनुसार इस्लामिक स्टेटले आफू अझै सक्रिय रहेको र ठूलो हिंसात्मक आक्रमण गर्न सक्ने सन्देश दिन खोजिरहेको हुन सक्छ।
अबको चुनौती
अमेरिकी सेनाको फिर्तीले इराकको राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षा संरचनाबारे नयाँ चरण सुरु गरेको छ। तर अमेरिकी सैन्य उपस्थितिको अन्त्यसँगै इरान समर्थित समूहको बढ्दो प्रभाव, इस्लामिक स्टेटको सम्भावित पुनः सक्रियता र इराकभित्रको राजनीतिक शक्ति सन्तुलन मुख्य चुनौतीका रूपमा रहने देखिन्छ।
इराकले अब आफ्नै सुरक्षा संयन्त्रमार्फत यी चुनौती सामना गर्नुपर्नेछ। अमेरिकी सेनाको दुई दशक लामो सैन्य उपस्थितिको अन्त्यसँगै इराकमा क्षेत्रीय शक्ति सन्तुलनसमेत नयाँ चरणमा प्रवेश गरेको छ।




