पञ्चेश्वर परियोजना अघि बढाउन प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गर्दै गृहकार्य : उर्जामन्त्री खड्का

१३ साउन, धनगढी ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन नेपाल सरकारले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लक्षित गरी गृहकार्य गरिरहेको बताएका छन्।

प्रेस युनियन कैलालीद्वारा धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले पञ्चेश्वर परियोजनामा विगत २० वर्षदेखि नेपाल र भारतबीच समझदारी कायम भएपनि ठोस प्रगति नहुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे। “यति लामो समयसम्म परियोजना अघि नबढ्दा करिब एक खर्ब रुपैयाँ बराबरको आर्थिक घाटा नेपालले बेहोर्नुपरेको छ,” उनले भने।

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा तय भएको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनासँग जोडिएका अवरोध हटाउँदै दुबै देशको हितमा निर्णय लिन सकिने गरी गृहकार्य भइरहेको छ।

मन्त्री खड्काले नेपालमा जलविद्युतको अपार सम्भावना भएपनि स्रोतसाधनको अभाव, कानुनी जटिलता र आर्थिक पक्षका कारण पश्चिम सेतीजस्ता महत्त्वपूर्ण योजनाहरू पनि वर्षौंदेखि अघि बढ्न नसकेको उल्लेख गरे।

भारतसँगको द्विपक्षीय समन्वयमा ढिलाइ हुँदा पञ्चेश्वरजस्ता ठूला आयोजना अलपत्र परिरहेकाले अब स्पष्ट रणनीति र राजनीतिक इच्छाशक्ति जरुरी भएको उनले स्पष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित खबर