भारतमा प्रधानमन्त्री बालेन्द्र शाहलाई मोदीको भव्य स्वागत, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिने अपेक्षा

नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भव्य स्वागत गरेका छन्। स्वागत समारोहमा भारतीय प्रधानमन्त्री मोदीको उपस्थिति रहेको थियो भने प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रधानमन्त्री शाहको यो पदभार ग्रहण गरेपछिको पहिलो द्विपक्षीय भारत भ्रमण हो। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका शाहको भ्रमणलाई दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

व्यापार, ऊर्जा र पूर्वाधार विकास मुख्य प्राथमिकतामा

सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा उच्चस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

विशेषगरी दुई देशबीचको व्यापार, पारवहन, जलविद्युत्, ऊर्जा व्यापार, सडक तथा रेलमार्ग, हवाई सम्पर्क र पूर्वाधार विकासलाई छलफलको प्राथमिकतामा राखिएको छ।

नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई प्रवेशमार्गको विषय पनि यस भ्रमणको महत्वपूर्ण एजेन्डामध्ये एक रहेको छ। विशेषगरी पश्चिम नेपालका विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न आवश्यक हवाई मार्ग उपलब्ध गराउने विषयमा नेपालले भारतसँग पहल गर्दै आएको छ।

बाढीपछिको पुनर्निर्माणमा भारतीय सहयोगको अपेक्षा

गत अगस्ट २६ मा भोटेकोशी क्षेत्रमा आएको बाढीले नेपालका विभिन्न पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। प्रभावित क्षेत्रको पुनर्निर्माण तथा विकासका लागि नेपालले भारतसँग आर्थिक सहयोग, अनुदान तथा सहुलियतपूर्ण ऋणको अपेक्षा गरेको छ।

काठमाडौं पोस्टका अनुसार भारतले नेपालका लागि करिब १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको अनुदान तथा ऋण सहयोग घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि यो विषय औपचारिक घोषणाबाट पुष्टि हुन बाँकी छ।

जनकपुर र अयोध्याबीच रेल सम्पर्कको चर्चा

यस भ्रमणको अर्को महत्वपूर्ण पक्ष नेपाल र भारतबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध पनि हो।

अयोध्या र जनकपुरलाई जोड्ने प्रस्तावित सरयू–कमला रेल सेवाको उद्घाटनसम्बन्धी कार्यक्रमलाई पनि भ्रमणको विशेष आकर्षणका रूपमा हेरिएको छ। यसले भगवान् राम र माता सीतासँग जोडिएका दुई ऐतिहासिक तथा धार्मिक स्थलबीचको सम्पर्क विस्तार गर्ने अपेक्षा गरिएको छ।

उच्चस्तरीय भेटघाट र स्वदेश फिर्ती

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा विभिन्न समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्ने र संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सरकारी अधिकारी तथा व्यवसायीहरूको प्रतिनिधिमण्डल पनि भारत भ्रमणमा सहभागी छ।

नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावनाको खोजी

नेपाल र भारतबीच खुला सीमा, व्यापार, संस्कृति, धार्मिक आस्था, पर्यटन र जनस्तरको सम्बन्धले विशेष स्थान राख्दै आएको छ। दुई देशबीच केही पुराना सीमा तथा अन्य द्विपक्षीय विषयमा मतभिन्नता रहे पनि सहकार्यका सम्भावना उत्तिकै महत्वपूर्ण छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणबाट ऊर्जा व्यापार, लगानी, पूर्वाधार विकास, रोजगारी, पर्यटन र हवाई सम्पर्कका क्षेत्रमा ठोस उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

दुवै देशबीचको सम्बन्धलाई आपसी सम्मान, समानता, विश्वास र पारस्परिक हितका आधारमा अघि बढाउन सकिएमा यसले नेपाल र भारत दुवैको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर