तियानजिन (चीन) — चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–लाओस सम्बन्धलाई अझ मजबुत बनाउन सकिने विभिन्न पक्षबारे छलफल भएको जनाइएको छ। आपसी हितका विषयमा विचार विमर्श गर्दै दुवै नेताले द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्।
भेटमा पूर्वउपप्रधानमन्त्री एवं सांसद पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा तथा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाली टोली सहभागी थिए।
तियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको यस शिखर सम्मेलनमा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ।




