काठमाडौं — सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसहित भ्रष्टाचार र अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले सोमबार माइतीघर मण्डलामा गरेको प्रदर्शनमा सहभागीहरूको भिड बढ्दो छ।
राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका उनीहरूले राष्ट्रभक्ति गीत गाइरहेका छन् भने “असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ”, “स्वतन्त्र आवाज हाम्रो अधिकार”, “स्टप करप्सन” जस्ता नारा लेखिएका प्लेकार्डसहित सरकारविरुद्ध आवाज उठाइरहेका छन्। धेरैजसो स्कुल–कलेजको ड्रेसमै प्रदर्शनमा आएका देखिन्छन्।
जेनजीले प्रदर्शनलाई पूर्ण रूपमा शान्तिपूर्ण राख्ने प्रतिबद्धता जनाएका छन्। सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, रुख–बिरुवा नभाँच्ने, आगजनी वा तोडफोड नगर्ने र सभ्य तरिकाले असन्तुष्टि प्रकट गर्ने उनीहरूको भनाइ छ। साथै राजनीतिक दलका नेता वा कार्यकर्तालाई सहभागी नगराउने घोषणा पनि गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण भए पनि घुसपैठ हुनसक्ने भन्दै सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको छ।
काठमाडौंसँगै रुपन्देही, दाङलगायतका जिल्लामा पनि जेनजीको प्रदर्शन सुरु भएको छ।




