काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई आन्दोलनमा सहभागी भएकै आधारमा मन्त्री छनोट नगर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै उनले मन्त्रिपरिषद् गठनमा तत्काल निर्णय नगरी गम्भीर विचार–विमर्श गरेकोमा धन्यवाद ज्ञापन गरे। प्रसाईँका अनुसार प्रधानमन्त्रीको यो सावधानीपूर्ण दृष्टिकोण आन्दोलनको मूल मर्मसँग मेल खाने ऐतिहासिक कदम हो।
उनले आगामी मन्त्रिपरिषद्मा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक तथा नीतिगत विज्ञ हुनु अनिवार्य रहेको बताए। सामाजिक सञ्जालमार्फत उनले लेखे, “केवल आन्दोलनमा उपस्थित भएको आधारमा मन्त्री छनोट गर्नु उचित हुने छैन। देशलाई सही बाटोमा डोऱ्याउन सक्ने दक्ष, योग्य र ईमानदार व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्छ। जेन–जीको कोटा पनि यस्तै दक्ष व्यक्तिलाई दिनुपर्छ।”
जेन–जीहरूको साहस र बलिदानले मुलुकलाई नयाँ दिशा दिएको उल्लेख गर्दै प्रसाईँले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने, “तपाईंहरूले जगाएको आशा अब नेपालको भविष्यको आधारशिला बनेको छ।”




