काठमाडौँ । आउँदो दसैँलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खोल्ने विषयमा सरकार र सरोकारवाला निकायबीच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालयका सचिव केशव शर्माको पहलमा बसेको छलफलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिहरू सहभागी छन् ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार छलफलमा हालैको आन्दोलनपछि उत्पन्न परिस्थिति, यातायात सञ्चालनलाई सहज बनाउने उपाय र दसैँका लागि अग्रिम टिकट बुकिङबारे मुख्यरूपमा विचार विमर्श भइरहेको छ ।
यसअघि यातायात व्यवसायीहरूले भाडादर समायोजनको विषय उठाउँदै आएका भए पनि आजको छलफलमा भने भाडा वृद्धि एजेन्डामा नरहेको सिटौलाले स्पष्ट पारेका छन् ।




