कञ्चनपुर — सुदूरपश्चिमका युवा विपिन जोशीलाई आज राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ गरिएको छ। हमासको नियन्त्रणमा दुई वर्षपछि निधन भएका जोशीको आज (बुधबार) महाकाली नदी किनारमा अन्त्येष्टि सम्पन्न गरिएको हो।
सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित जोशीको निवासमा पार्थिव शरीर ल्याइएको थियो। आज बिहान हजारौं स्थानीयको उपस्थितिमा शवयात्रा सुरु भई महाकाली किनारमा पुगेर दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए।
विपिनको पार्थिव शरीरलाई सशस्त्र प्रहरी बल नेपालका एक टुकुडीले राष्ट्रिय सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। शवयात्रामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सयौं स्थानीयवासीले सहभागिता जनाएका थिए।
दुई वर्षअघि कृषि विज्ञान अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी हमासको आक्रमणमा परेपछि बेपत्ता भएका थिए। सो आक्रमणमा सुदूरपश्चिमका आठ जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।
विपिनको मृत्युले कञ्चनपुर मात्रै होइन, सिंगो सुदूरपश्चिम शोकाकुल बनेको छ। आज महाकाली किनारमा उनको अन्तिम संस्कारसँगै “देशका लागि बलिदानी युवालाई श्रद्धाञ्जलि” भन्ने स्वर सर्वत्र गुन्जिएको थियो।




