लगातार तेस्रो हार: अमेरिकासँग ४ विकेटले पराजित भयो नेपाल

युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग–२ सिरिज अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २७१ रनको सम्मानजनक योगफल तयार पारेको थियो। तर, अमेरिकाले सो लक्ष्य ४९ औँ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्दै जित हात पारेको हो।

अमेरिकाका लागि साइतेजा मुक्कमल्लले सर्वाधिक ७५ रन बनाए। उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे। मिलिन्ड कुमारले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ५८ रन जोडे भने ओपनर सायन जहांगिरले ३६ रनको योगदान दिए।

नेपालका बलरमध्ये सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसी, गुल्सन झा र नन्दन यादवले एक–एक विकेट हात पारे।

यसअघि नेपालको इनिङमा दीपेन्द्रसिंह ऐरीले ६७ बलमा ३ छक्का र २ चौकासहित सर्वाधिक ७५ रन बनाए।
त्यस्तै करण केसीले ३२ बलमा आक्रामक ४९ रन (२ चौका, ३ छक्का) जोडे। ओपनर कुशल भूर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रनको योगदान गरे।

अमेरिकाका बलर हर्मित सिंहले ३ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। शौरभ नेत्रभल्कर र नोस्तुस केन्जिगेले २/२ विकेट, भने जसदीप सिंह र शुभम रञ्जनेले एक–एक विकेट लिए।

युएईमा जारी यो सिरिजमा नेपालले अहिलेसम्म खेलेका तीनै खेलमा हार व्यहोरेको छ। अब नेपालले आगामी नोभेम्बर ५ मा युएईसँग अन्तिम खेल खेल्नेछ र त्यसपछि स्वदेश फर्कनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर