काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई विशेष महाधिवेशन नगर्न र नियमित महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएका छन्।
विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएपछि सभापति देउवाले सिंगापुरबाटै यस्तो निर्देशन दिएका हुन्।
गत आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक नियमित महाधिवेशनको मिति टुंगो नलागेपछि स्थगित भएको थियो। त्यसपछिको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक छलफलमा कार्यवाहक सभापति खड्काले देउवाको सन्देश सुनाउँदै भने, “सभापति देउवाको निर्देशन छ— विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनमा सहमतिको प्रयास गरौँ।”
देउवा हाल उपचारका क्रममा श्रीमती डा. आरजु राणा देउवासँग सिंगापुरमा रहेका छन्। उनका निकट सहयोगीहरूले पनि देउवाले टेलिफोनमार्फत विशेष महाधिवेशनले पार्टीमा थप अस्थिरता ल्याउने भन्दै त्यस दिशामा नजान सुझाव दिएको पुष्टि गरेका छन्।
भदौ २४ गते बुढानीलकण्ठस्थित देउवाको निवासमा ‘जेनजी आन्दोलन’का क्रममा कुटपिट भएपछि उनी एक महिना सैनिक अस्पतालमा उपचाररत थिए। त्यसपछि असोज २८ गते सानेपास्थित पार्टी कार्यालयमा सार्वजनिक रूपमा देखा परेका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका थिए।
हाल खड्काको नेतृत्वमा चलिरहेको केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको मिति तय गर्ने विषयमा विवाद जारी छ। संस्थापन पक्षले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ भने इतर पक्षका नेता डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्।
विवाद समाधानका लागि महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्, तर त्यसमा समेत सहमति जुट्न सकेको छैन।
देउवाको ताजा निर्देशनले पार्टीभित्रको द्विविधा केही हदसम्म स्पष्ट पारेको देखिन्छ, तर नियमित महाधिवेशनको मिति तय गर्नका लागि अझै सहमतिको प्रयास जारी रहने संकेत मिलेको छ।




