नवलपुरमा स्क्रब टाइफसको संक्रमण तीव्र : ४४ जना संक्रमित, ६ उपचाररत

नवलपुर — मनसुन निष्क्रिय भएपछि नवलपुरमा स्क्रब टाइफसका बिरामीको संख्या तीव्ररुपमा बढ्दै गएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार हालसम्म जिल्लामा ४४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।

कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार असोज ५ गतेसम्म १७ जना मात्र संक्रमित थिए भने पछिल्लो २० दिनमा थप २७ जना नयाँ संक्रमित भेटिएका हुन्। “स्क्रब टाइफसको संक्रमण हाल बढ्दो क्रममा छ,” सुवेदीले बताए। उनका अनुसार संक्रमितमध्ये ३८ जना निको भइसकेका छन् भने ६ जना हाल अस्पतालमा उपचाररत छन्।

सुवेदीका अनुसार जिल्लामा डेङ्गी संक्रमण घट्दै गए पनि स्क्रब टाइफस एक्कासि फैलिन थालेको छ। उनले स्क्रब टाइफसका लक्षण डेङ्गीसँग मिल्दोजुल्दो भए पनि यो रोग मानव स्वास्थ्यका लागि झन् ३० गुणा बढी घातक हुने बताए। यो रोग ‘ओरेनसिया सुसुगामुसी’ नामक ब्याक्टेरियाबाट हुने हो, जुन माइट (किर्ना) को टोकाइबाट मानिसमा सर्छ।

प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहका अनुसार पछिल्ला वर्षहरूमा यो रोग सामान्य मात्रामा देखिँदै आएको भए पनि हाल एक सातामै १० जना संक्रमित देखिएपछि सतर्कता बढाइएको छ। “समयमै उपचार नपाए संक्रमितको ज्यानसमेत जान सक्छ,” सिंहले चेतावनी दिए।

उनका अनुसार स्क्रब टाइफसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन। यस रोगबाट बच्ने प्रमुख उपाय भनेकै संक्रमित माइटको टोकाइबाट जोगिनु हो। माइट प्रायः झाडी, बोटबिरुवा र मुसाका कानमा पाइने भएकाले यस्ता स्थानबाट टाढा रहन तथा बाहिर काम गर्नुपरे माइट निवारक स्प्रे प्रयोग गर्न उनले सुझाव दिए।

यो रोगका लक्षणहरूमा शरीरमा रातो बिबिरा आउनु, टाउको दुख्नु, जिउ गल्नु, मांसपेसी दुख्नु, टोकेको ठाउँमा रातो दाग देखिनु र १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु सामेल छन्।

सिंहले यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जान र चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न आग्रह गरे। उनले दुखाइ कम गर्ने औषधि आफैंले खान नहुने चेतावनी पनि दिए।

प्रतिक्रिया
सम्बन्धित खबर