२३ कात्तिक, काठमाडौं — हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालको अभियान समाप्त भएको छ। आइतबार बिहान भएको बाउल लिगको अन्तिम खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो। नेपालका तर्फबाट मोहम्मद आदिल आलमले ३२ रन र सन्दीप जोराले ३१ रन अविजित रहेर योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ६ ओभरमा ५ विकेट गुमाउँदै १२९ रनको बलियो योगफल बनाएको थियो। यूएईका निलन्श केशवानीले १५ बलमा १० छक्का र ३ चौकासहित ७३ रनको विस्फोटक पारी खेले।
नेपालका लागि राशिद खानले २ विकेट, जबकि रुपेश सिंह र लोकेश बमले १–१ विकेट लिए।
यसअघि समूह चरणमा नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजय व्यहोरेर बाउल लिगमा पुगेको थियो। बाउल लिगमा नेपालले श्रीलंकासँग हार र भारतविरुद्ध ९२ रनको उत्कृष्ट जित निकालेको थियो।
अब बाउल लिगको शीर्ष दुई स्थानमा रहेका श्रीलंका र यूएईबीच बाउल फाइनल खेल हुनेछ।




