कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीहरूको नामावली सार्वजनिक गर्‍यो

काठमाडौं । कारागार व्यवस्थापन विभागले देशभरका विभिन्न कारागारहरूबाट भागेका कैदीबन्दीहरूको विवरण सार्वजनिक गरेको छ।

विभागले आइतबार सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीहरूको नामावली सार्वजनिक गरेको हो।

विभागका अनुसार ती आन्दोलनका क्रममा विभिन्न स्थानका कारागारबाट हजारौँ कैदीबन्दीहरू फरार भएका थिए। सो क्रममा अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दीहरू फिर्ता भइसकेका छन्।

तर, अझै पनि ५ हजार ५४७ जना कैदीबन्दीहरू फरार नै रहेको विभागले जनाएको छ।

फरार कैदीबन्दीहरूको विवरण सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा राखिएको छ, जसको माध्यमबाट सर्वसाधारणले पनि जानकारी प्राप्त गर्न सक्ने विभागले जनाएको छ।

यस्तै, विभागले फरार कैदीबन्दीहरू सार्वजनिक सेवा लिन वा कार्यालयहरूमा आउने क्रममा चिनिएका खण्डमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, कार्यदल र सुरक्षा निकायमा खबर गरी पक्राउ गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

विभागले आम सर्वसाधारणलाई फरार कैदीबन्दीबारे जानकारी भएमा नजिकको प्रशासन वा प्रहरी कार्यालयलाई तुरुन्त जानकारी गराउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर