नेपाली कांग्रेसले पार्टीको आन्तरिक सुदृढीकरण, नीतिगत स्पष्टता र प्रतिपक्षी भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पोखरामा आयोजित कांग्रेस गण्डकी प्रदेशको भेटघाट कार्यक्रममा अभियानबारे जानकारी दिँदै पार्टीका विगतका कमजोरीको समीक्षा गरी नयाँ सोच, स्पष्ट विचार र ठोस कार्ययोजनाका साथ अघि बढ्ने बताए।
उनका अनुसार अभियानमार्फत पार्टीको आत्मसमीक्षा, वैचारिक स्पष्टता, आवश्यक दस्तावेज निर्माण तथा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति तय गरिनेछ। पार्टीलाई थप मजबुत र जनतामाझ विश्वसनीय बनाउन आन्तरिक एकता, आपसी सहकार्य र समन्वयलाई प्राथमिकता दिइने उनले उल्लेख गरे।
महामन्त्री पौडेलले पार्टीभित्र फैलिने अनावश्यक हल्ला र कानेखुसीले संगठन कमजोर बनाउने भन्दै नेता तथा कार्यकर्तालाई त्यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरे। साथै, हालसम्म जिम्मेवारी र कार्यविभाजन नपाएका नेताहरूलाई समेत उपयुक्त भूमिका प्रदान गर्न पार्टीले फराकिलो दृष्टिकोण अपनाउने उनको भनाइ थियो।
उनले मङ्सिर महिनाभित्र जिल्ला तथा प्रदेश अधिवेशनको तयारीलाई अघि बढाउनुका साथै आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी संगठनात्मक गतिविधि व्यापक बनाइने जानकारी दिए।
अभियानको विस्तृत कार्ययोजनासहितको सर्कुलर छिट्टै प्रदेश र जिल्ला तहमा पठाइने पनि उनले बताए।
‘हामी तयार छौँ’ अभियानलाई कांग्रेसले आफ्नो संगठनात्मक कमजोरी सुधार्ने, आन्तरिक एकता बलियो बनाउने र जिम्मेवार प्रतिपक्षीका रूपमा स्थापित हुने महत्वपूर्ण प्रयासका रूपमा अघि बढाउन खोजेको देखिन्छ।
प्रकाशित: ३० कार्तिक, २०८३




