काठमाडौँ — बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालका २६ जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, चक्रवात ‘मोन्था’को प्रभाव कार्तिक १३ गते (बिहीबार) दिउँसोदेखि कार्तिक १५ गते (शनिबार) बिहानसम्म रहनेछ।
प्रभावित क्षेत्र
चक्रवातको सीधा प्रभाव कोशी, मधेस र बागमती प्रदेशमा पर्नेछ।
-
मधेस र कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
-
बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा
-
गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा हल्का वर्षाको सम्भावना
जोखिम र पूर्वतयारीका सिफारिस
प्राधिकरणले सम्भावित वर्षा र हिमपातका कारण पहिरो, आकस्मिक बाढी, डुबान लगायतका जोखिम बढ्न सक्ने जनाएको छ। साथै, सडक तथा हवाई यातायात, कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ।
सतर्कताका लागि सुझावहरू:
-
अनावश्यक यात्रा नगर्नु।
-
डुबान सम्भावित बस्तीका बासिन्दाले उँचो र सुरक्षित स्थानको जानकारी लिनु र तयार रहनु।
-
नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास गर्नेले सतर्कता अपनाउनु।
-
धान तथा अन्य बाली समयमै भित्र्याउनु।
-
स्थानीय विपद् व्यवस्थापन समिति र सुरक्षा निकायका निर्देशन अनुसार सवारी आवागमन नियन्त्रणमा राख्नु।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र साझेदार संस्थाहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।
साथै, सबैलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही सचेत र सजग रहन सन्देश दिएको छ।




