६ वैशाख, काठमाडौं — विश्वकै महत्वपूर्ण इन्धन आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमध्य फेरि एकपटक उच्च तनावको केन्द्र बनेको छ। इरानले उक्त जलमार्गमा आवतजावत रोक्ने घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई पार गर्न नदिने चेतावनी दिएको छ।
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले जारी गरेको वक्तव्यमा जलडमरूमध्य पार गर्न खोज्ने जहाजहरूलाई ‘निशाना बनाइने’ स्पष्ट चेतावनी दिइएको छ। साथै फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ जाने जहाजलाई शत्रुसँगको सहकार्यको रूपमा लिइने बताइएको छ।
यसअघि पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच भएको वार्तामा जलमार्ग खुला गर्ने सहमति भएको जनाइएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएपछि परिस्थिति पुनः जटिल बनेको हो। ट्रम्पले इरानको युरेनियम अमेरिका पठाउने सहमति भएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै झुटो आरोप भनेको छ।
वार्तापछि इरानले अस्थायी रूपमा जलमार्ग खुला गरेको र सबै व्यावसायिक जहाजका लागि सुरक्षित रहेको जनाएको २४ घण्टा नबित्दै पुनः तनाव बढेको छ। यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत उतारचढाव ल्याएको छ।
इरानका संसद् सभामुख तथा वार्ताकार मोहम्मद बाकर गालिबाफले हर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकी नाकाबन्दीको आलोचना गरेका छन्। उता, ट्रम्पले इरानले जलमार्ग बन्द गरेर ‘दबाब सिर्जना’ गर्न नसक्ने चेतावनी दिएका छन्। उनले निर्धारित समयभित्र सहमति नभए थप सैन्य कारबाही हुन सक्ने संकेतसमेत दिएका छन्।
बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमएमटीओ) का अनुसार इरानले भारतका दुई व्यावसायिक जहाजमाथि गोली चलाएको घटना पनि सार्वजनिक भएको छ, जसको पुष्टि भारतको विदेश मन्त्रालयले गरेको छ। साथै, उक्त क्षेत्रमा रहेका अन्य जहाजहरूले पनि इरानी नौसेनाबाट चेतावनी सन्देश प्राप्त गरेको जनाइएको छ।
विश्लेषकहरूका अनुसार अहिले अवस्था ‘दुईतर्फी नाकाबन्दी’ जस्तो देखिएको छ—एकातर्फ अमेरिकाको इरानमाथिको दबाब र अर्कोतर्फ इरानले हर्मुज जलडमरूमध्य बन्द गर्ने कदम। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ।
यस घटनाक्रमले कूटनीतिक वार्ता अनिश्चित बन्दै गएको र क्षेत्रीय तनाव थप चुलिने संकेत देखिएको छ।




