मुम्बई । भारतीय चर्चित तथा बहुमुखी प्रतिभाकी गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकहरूले उनको निधन भएको पुष्टि गरेका हुन्।
कार्डियक अरेस्ट भएपछि शनिबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ।
८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी भोसलेले बाल्यकालदेखि नै गायन क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनका पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्। उनले सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गर्दै सन् १९४८ मा हिन्दी चलचित्र ‘चुनरिया’ मार्फत बलिउडमा पाइला टेकेकी थिइन्।
आशा भोसलेले आफ्नो लामो सांगीतिक यात्रामा गजल, भजन, पप तथा शास्त्रीय संगीतजस्ता विभिन्न विधामा स्वर दिएकी थिइन्। उनी संगीत क्षेत्रमा अत्यन्तै सक्रिय रहँदै विश्वभर लोकप्रिय बनेकी थिइन्।
उनको नाममा विश्व कीर्तिमान समेत रहेको छ। सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई विश्वमै सबैभन्दा धेरै स्टुडियो रेकर्डिङ गर्ने कलाकारका रूपमा मान्यता दिएको थियो।
२० भन्दा बढी भारतीय तथा विदेशी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी भोसलेका ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ।




