आज विश्व ध्यान दिवस : नेपालमा विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार आज डिसेम्बर २१ तारिखका दिन विश्व ध्यान दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले योग र ध्यानलाई स्वास्थ्यका लागि प्रभावकारी तथा पूरक उपायका रूपमा स्वीकार गर्दै यस दिनलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। नेपालसहित १८ देशको प्रस्ताव पारित भएपछि यो दिवस विश्वभर मनाउन थालिएको हो। सोही निर्णयपछि गत वर्ष पहिलोपटक सरकारकै आयोजनामा काठमाडौँको टुँडिखेलमा विश्व ध्यान दिवस मनाइएको थियो।

यस वर्ष पनि नेपाल सरकारको आयोजनामा आज विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ। त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानसम्बन्धी अन्तरक्रिया तथा सामूहिक ध्यान कार्यक्रम सञ्चालन हुने जनाइएको छ। यस अवसरमा अन्य सरोकारवाला निकायहरूले पनि देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेका छन्।

ध्यानको क्षेत्रमा क्रियाशील व्यक्तिहरूले नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’का रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। करिब ११ वर्षको निरन्तर प्रयासपछि ध्यान दिवसले संयुक्त राष्ट्रसङ्घबाट मान्यता पाएको हो। सन् २०१४ देखि अघि बढाइएको प्रस्ताव गत वर्ष पारित भएसँगै विश्व ध्यान दिवसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खबर