पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको हो। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ।

त्यस्तै, दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको छ।

यसैगरी पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तथा डिजल–मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता तथा अमेरिका–इजरायल–इरानबीच बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको जनाएको छ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ। यसबाट आम उपभोक्ता तथा सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ।”

प्रतिक्रिया
सम्बन्धित खबर