ट्रम्पको संकेत: इरानबाट अमेरिकी सेना फिर्ता, द्वन्द्व अन्त्यतर्फ अग्रसर

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन्। उनले छिट्टै इरानबाट अमेरिकी सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरिने बताएका छन्।

ओभल अफिसबाट बोल्दै ट्रम्पले आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सैनिकहरू इरानबाट फिर्ता हुने तयारीमा रहेको जानकारी दिए। उनका अनुसार इरानमा अमेरिकाको लक्ष्य पूरा भइसकेको छ र अब द्वन्द्व लम्ब्याइराख्नु आवश्यक छैन। यद्यपि उनले युद्ध अन्त्यअघि कुनै समझदारी वा सम्झौता हुन सक्ने सम्भावनालाई भने नकारेका छैनन्।

यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यका लागि इरान तयार रहेको बताएका छन्। उनले यदि भविष्यमा पुनः द्वन्द्व नचर्किने सुनिश्चितता मिल्यो भने इरान शान्ति प्रक्रियामा अघि बढ्न इच्छुक रहेको उल्लेख गरेका छन्।

तर इजरायलको धारणा भने फरक देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालसम्म युद्ध अन्त्यको कुनै निश्चित समयसीमा तोकेका छैनन्। उनले द्वन्द्व कहिले समाप्त हुन्छ भन्ने विषयमा अहिले नै ‘डेडलाइन’ दिन नसकिने बताएका छन्।

पश्चिम एशियामा रहेका अमेरिकी कम्पनीहरूमाथि इरानले दिएको धम्कीबारे ट्रम्पले त्यस्तो जोखिमलाई गम्भीर रूपमा नलिएको संकेत दिएका छन्। उनका अनुसार इरानी नेतृत्वबाट प्रत्यक्ष आक्रमणको सम्भावना न्यून रहेको छ।

यसअघि फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए, जसमा इरानका सर्वोच्च नेता अली खामेनीलगायत उच्च अधिकारी मारिएको दाबी गरिएको छ। त्यसपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको खबर सार्वजनिक भएको छ, यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

यस घटनाक्रमले खाडी क्षेत्रमा असुरक्षा बढाएको छ। इरानले बदलास्वरूप खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डा र ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको बताइएको छ। यसका कारण इन्धन आपूर्ति प्रभावित भई विश्वव्यापी असर परेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर