तेहरान । इरान र अमेरिकाबीच दुई हप्ताका लागि युद्धविराम घोषणा भएसँगै इरानी नागरिकहरू राजधानी तेहरानका सडकमा उत्रिएर उत्सव मनाएका छन्। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दैद न्यू योर्क टाइम्सले इरानविरुद्धको सैन्य आक्रमण रोकिएको जनाएको छ।
युद्धविराम घोषणासँगै कुवेत, बहराइन, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स तथा कतारलगायत खाडी राष्ट्रहरूले सुरक्षा सतर्कता उच्च बनाएका छन्। ती देशहरूले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पार्दै सम्भावित क्षेप्यास्त्र तथा ड्रोन आक्रमण रोक्ने तयारी गरेका छन्। कुवेतले आक्रमण अवरोध गरिरहेको जनाएको छ भने बहराइनले साइरन बजाएर नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
यसअघि ‘होर्मुज’ जलमार्ग नखुलेसम्म इरानबाट आक्रमण जारी रहने अनुमान गरिएको थियो। इरानका विदेशमन्त्री अब्बास अराघाचीले अमेरिका र इजरायलले आक्रमण रोकेमा आफ्नो देशले पनि खाडी क्षेत्रमा सैन्य गतिविधि रोक्ने र जलमार्ग दुई हप्ताका लागि सुरक्षित पारवहनका लागि खुला गर्ने बताएका थिए।
Reutersले ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै इजरायल पनि युद्धविराममा सहभागी भएको जनाएको छ। तर डोनाल्ड ट्रम्पले घोषणा गरेको करिब एक घण्टापछि इजरायली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएको र त्यसलाई अवरोध गर्ने काम भइरहेको जानकारी दिएको छ। साथै, इजरायलले आफ्ना आक्रमण पनि जारी राखेको जनाएको छ।
ट्रम्पले इरानलाई जलमार्ग खोल्न दिएको समयसीमा सकिनुअघि नै यो सहमति भएको हो। यसअघि उनले कडा चेतावनी दिँदै ‘सम्पूर्ण सभ्यता समाप्त हुन सक्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
इरानका अनुसार दुवै देशबीच आगामी शुक्रबार इस्लामाबाद, पाकिस्तानमा वार्ता सुरु हुनेछ। ट्रम्पका अनुसार इरानले १० बुँदे प्रस्ताव पेश गरिसकेको छ र दुई हप्ताभित्र अन्तिम सम्झौतामा पुग्ने अपेक्षा गरिएको छ।
इरानी सरकारी सञ्चारमाध्यमले भने यसलाई ट्रम्पको ‘अपमानजनक पछि हट्ने’ कदमका रूपमा टिप्पणी गरेका छन्। उता ह्वाइट हाउसले ट्रम्पकै दबाबका कारण इरान जलमार्ग खोल्न तयार भएको दाबी गरेको छ।
युद्धविराम घोषणापछि आर्थिक क्षेत्रमा पनि प्रभाव देखिएको छ। अमेरिकाको सेयर बजारमा सुधार आएको छ भने कच्चा तेलको मूल्य करिब १७ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलरमा झरेको छ।
(स्रोत: अन्तर्राष्ट्रिय समाचार एजेन्सी)




