संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार साँझ संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।

प्रधानमन्त्री शाह आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्युयोर्कका लागि प्रस्थान गर्नुभएको हो। उहाँलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ।

प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमणका विषयमा क्रमशः जानकारी तथा ब्रिफिङ दिने कार्यक्रम रहेको छ।

त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा नेपालका स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उहाँ सहभागी हुनुहुनेछ।

महासचिव गुटेरेससँग भेटवार्ता

असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

महासभामा प्रधानमन्त्री शाहले नेपालको धारणा, प्राथमिकता तथा अन्तर्राष्ट्रिय चासोका विषयमा सम्बोधन गर्नुहुनेछ।

असोज १० गते स्वदेश फर्किने

महासभासहितका निर्धारित कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट कतारको दोहातर्फ प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत तथा बिदाइ गर्नुहुनेछ।

प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर