२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार पूर्ण रूपमा तयार र इच्छुक रहेको बताएकी छन्।
ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको उल्लेख गरिन्। उनले वर्तमान सरकार सुशासन र निर्वाचनलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइरहेको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीका अनुसार आउँदो फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार अहोरात्र खटिरहेको छ। “निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ,” उनले भनिन्।
उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताइन्। संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियामार्फत मुलुकलाई सुशासनको मार्गमा अघि बढाउने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि किसिमको अराजकता स्वीकार्य नहुने स्पष्ट सन्देश दिइन्।




