अली खामेनीको निधन पुष्टि, इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा

१७ फागुन, काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन भएको इरानको सरकारी टेलिभिजनले पुष्टि गरेको छ। उनको निधनप्रति सम्मान व्यक्त गर्दै सरकारले ४० दिन राष्ट्रिय शोक र सात दिन सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ।

यसअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यसबेला इरानबाट औपचारिक पुष्टि भएको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकी सञ्चार संस्था एनबीसी समाचार सँगको अन्तर्वार्तामा खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए।

तर पछि इरानको राज्य टेलिभिजनका प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको घोषणा गरेका हुन्। बीबीसी र अल जजीरा का अनुसार इरानको फार्स समाचार एजेन्सीले पनि खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा कार्यरत रहँदा मारिएको जनाएको छ। साथै तस्निम समाचार एजेन्सीले पनि उनको निधन पुष्टि गरेको छ।

खामेनी को थिए?

८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताको भूमिकामा थिए। उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको निधनपछि नेतृत्व सम्हालेका थिए। खोमेनीले सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गर्दै तत्कालीन शासक मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेका थिए।

इरानको सर्वोच्च नेताका रूपमा खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहँदै आएको थियो। उनी देशका सर्वोच्च धार्मिक नेता पनि थिए।

उनको शासनकालमा इरानले पश्चिमा देशहरूसँग कडा सम्बन्ध तनाव, आर्थिक प्रतिबन्ध र आन्तरिक विरोध प्रदर्शनहरूको सामना गरेको थियो। खामेनीले संयुक्त राज्य अमेरिकालाई इरानको प्रमुख शत्रुका रूपमा उल्लेख गर्दै आएका थिए भने इजरायलप्रति पनि कडा अडान लिँदै आएका थिए।

अमेरिका–इजरायलसँग तनाव

हालै इरान–इजरायलबीच बढ्दो सैन्य तनावका बीच इजरायली अधिकारीहरूले खामेनीलाई लक्षित गर्ने संकेत दिएका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षा मन्त्री इजरायल काट्जले खामेनीको भूमिकाप्रति कडा टिप्पणी गरेका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी जनतालाई सम्बोधन गर्दै आफ्नो सरकार स्वयं परिवर्तन गर्न आह्वान गरेका थिए, जसलाई इरानमा शासन परिवर्तनको संकेतका रूपमा हेरिएको थियो।

खामेनीको निधनसँगै इरानको राजनीतिक तथा क्षेत्रीय शक्तिसन्तुलनमा नयाँ चरण सुरु हुने विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर