काठमाडौँ — इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बल (आईआरजीसी) ले अमेरिका र इजरायलविरुद्ध जारी तनावका बीच आफूहरूले शक्तिशाली क्षेप्यास्त्र प्रयोग गर्न सक्ने चेतावनी दिएको छ। साथै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने प्रस्ताव पनि अस्वीकार गरेको जनाएको छ।
यसअघि राष्ट्रपति ट्रम्पले इरानको क्षेप्यास्त्र कार्यक्रम ठूलो मात्रामा ध्वस्त भइसकेको दाबी गर्दै युद्ध चाँडै समाप्त हुने बताएका थिए। तर आईआरजीसीले उक्त दाबीलाई खण्डन गर्दै आफ्नो क्षेप्यास्त्र क्षमता अझै बलियो रहेको दाबी गरेको छ।
ट्रम्पले इरानले हर्मुजको जलडमरूमध्यबाट तेल बोकेका ट्यांकरहरूको आवागमन रोक्ने प्रयास गरेमा अमेरिकाले २० गुणा शक्तिशाली सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए। त्यसको जवाफमा इरानले कुनै पनि परिस्थितिमा आत्मसमर्पण नगर्ने स्पष्ट पारेको छ।
तनावका बीच इरानले बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरब लगायत पश्चिम एसियाका विभिन्न क्षेत्रमा प्रत्याक्रमण जारी राखेको जनाएको छ। मंगलबार बहराइनको मनामामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने इजरायलको राजधानी आसपास दुई जनाको ज्यान गएको बताइएको छ।
यसैबीच सोमबार मध्यराति अमेरिकाले गरेको शक्तिशाली आक्रमणमा तेहरानको रिसालत चोक नजिक कम्तीमा ४० जनाको मृत्यु भएको बताइएको छ। उता लेबनानमा हिज्बुल्लाह र इजरायलबीचको लडाइँ पनि जारी छ। इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ४८६ नाघिसकेको स्थानीय अधिकारीहरूले जनाएका छन्।




