आगामी तीन दिन देशभर हावाहुरी, वर्षा र हिमपातको सम्भावना — सतर्क रहन आग्रह

काठमाडौं, ५ चैत — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा आगामी तीन दिनसम्म तीव्र हावाहुरी, वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बिहीबार जारी गरिएको विज्ञप्तिअनुसार, प्रि–मनसुन सक्रिय भएसँगै मौसम बदली हुने र विशेषगरी हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवामा अवरोध आउने जोखिम रहेको जनाइएको छ।

प्राधिकरणले हालैका दिनमा हावाहुरीका कारण जनधनको क्षति भएको उल्लेख गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

सुरक्षाका लागि प्राधिकरणले अनावश्यक यात्रा नगर्न, हावाहुरी चल्दा घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू सुरक्षित रूपमा बन्द गर्न र सवारी साधन चलाइरहेका बेला सुरक्षित स्थानमा रोकिन सल्लाह दिएको छ।

त्यसैगरी, हावाहुरीको समयमा नआत्तिन, भीडभाडमा भए व्यवस्थित रूपमा सुरक्षित स्थानतर्फ जान, कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्न तथा लत्रिएका बिजुलीका तार नछुन समेत अनुरोध गरिएको छ। साथै, जोखिमपूर्ण समयमा विद्युतीय उपकरण प्रयोग नगर्न पनि सुझाव दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर