आज र भोलि देशभर हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, १७ चैत — जल तथा मौसम विज्ञान विभागका अनुसार आज मंगलबार पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहनुका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेश लगायत पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

त्यसैगरी बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने क्षतिबाट जोगिन सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर