एयरपोर्टमा टिकटको बिल अनिवार्य होइन : अध्यागमन विभागको स्पष्टिकरण

काठमाडौं, चैत २८ — अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले एयरपोर्टमा हवाई टिकटको बिल वा भुक्तानीको रसिद अनिवार्य रूपमा पेश गर्न नपर्ने स्पष्ट गरेको छ।

वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबीच अध्यागमन विभागले आफ्नो धारणा सार्वजनिक गरेको हो।

विभागका अनुसार श्रमिकहरूले श्रम स्वीकृति, राहदानी लगायतका आवश्यक आधारभूत कागजातहरू मात्र प्रस्तुत गरे पुग्नेछ। यसबाहेक अतिरिक्त कुनै पनि बिल वा रसिद देखाउनुपर्ने बाध्यता नरहेको उल्लेख गरिएको छ।

अध्यागमन विभागले चैत २३ गते वैदेशिक रोजगार विभागबाट जारी सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रचलित अध्यागमन कानुनअनुसार प्रक्रिया स्पष्ट पारेको हो।

त्यस्तै, गृह मन्त्रालयको २०८२ कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भए पर्याप्त हुने जनाइएको छ।

विभागले सबै नागरिकलाई कुनै पनि भ्रममा नपरी आवश्यक जानकारी लिएर ढुक्कसँग यात्रा गर्न आग्रह समेत गरेको छ।

यसअघि वैदेशिक रोजगार विभागले चैत २९ गतेदेखि लागू हुने गरी हवाई टिकट, त्यसको बिल तथा म्यानपावरलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर