काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा आंशिक बदली देखिएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
कोशी प्रदेशका केही हिमाली तथा पहाडी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
उता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मी थप बढ्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। ती क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने जनाइएको छ।




