तिहार यस्तो: बिहान कुकुर पूजा, साँझ लक्ष्मीपूजा

तिथिको घटबढले कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिनमा, यमपञ्चकको तेस्रो दिन आज

२२ कात्तिक, काठमाडौं । यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। आज दिउँसोसम्म कात्तिक कृष्ण चतुर्दशी र साँझतिर औँसी तिथि लाग्ने भएकाले बिहान कुकुर पूजा गरेपछि साँझ लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार सायंकालमा औँसी तिथि परेको दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। आज बिहान नरक स्नानसहित कुकुर तिहार मनाइनेछ भने औँसी तिथिको स्नान र दान कात्तिक २३ गते बिहान गरिनेछ।

कात्तिक कृष्ण चतुर्दशीमा कुकुरलाई मीठा परिकार खुवाए यमलोक जाँदा श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने धार्मिक विश्वास छ। आजको रातलाई सुखरात्री भनिन्छ।

यसैगरी गाईपूजा कात्तिक २३ गते सोमबार, गोरुपूजा, गोवर्धनपूजा, हलितिहार र म्हपूजा कात्तिक २४ गते मंगलबार परेको छ। भाइटीका कात्तिक २५ गते बुधबार छ; उत्तम साइत बिहान ११ बजेर ७ मिनेट। सोही दिनबाट नेपाल संवत् ११४७ सुरु हुनेछ।

आजै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि हो।

प्रतिक्रिया
सम्बन्धित खबर